विराटनगर : विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा महानगर रोजगार मेलालाई निरन्तरता दिने उल्लेख गरेको छ। महानगरको १६ औँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा रोजगार मेलाको माध्यमबाट महानगरले थप रोजगारी सिर्जना गर्ने उद्देश्य लिएको उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा परम्परागत सीप र प्रविधिमा आधारित लघुघरेलु उद्योगको संरक्षण साथै नवप्रवर्तनमा आधारित उद्योगहरूको स्थापनाका लागि महानगरवासीलाई प्रोत्साहित गर्न बिउपुँजीको आवश्यक प्रबन्ध मिलाइने जनाइएको छ।
विपन्न वर्गको जीविकोपार्जन सुनिश्चित गर्न गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमलाई प्राथिमिकता र युवा रोजगार र स्वरोजगारलाई प्रवर्द्धन गर्न सरकारी, गैरसरकारी र निजी क्षेत्रको सहकार्यमा सीपमूलक तालिम संचालन गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै, नीति तथा कार्यक्रममा महिला उद्यमशीलता विकासका लागि विशेष तालिम, आवश्यक वित्तीय सहयोग र महिलालाई अटोरिक्सा र सिटी रिक्सा तालिममा सहभागी हुन प्रोत्साहित गरिने समेत उल्लेख छ।


