विराटनगर । ‘उद्यमशीलता: एक परिचय’ सफल उद्यमी बन्न आवश्यक पर्ने व्यवस्थापन सम्बन्धी किताब होइन । यो किताब उद्यमशीलताको सामान्य परिचय दिने, उद्यमशीलताको आवश्यकता दर्शाउने र उद्यमशीलतालाई कसरी प्रोत्साहन गर्न सकिन्छ भनेर बुझ्न सहयोग पुर्याउने दस्तावेज हो ।
किताबले उद्यमशीलताको महत्व र विशेषताको व्याख्यासँगै उद्यमशीलताले नवीनता, प्रोत्साहन, प्रगति, उत्पादनशीलता र आर्थिक विकासमा खेल्ने भूमिकालाई प्रष्ट पार्ने जमर्को गरेको छ । थप, किताबले कामदार, उपभोक्ता र सर्वसाधारणको जीवनमा महत्वपूर्ण भूमिका खेल्ने तर मूलधारका अर्थशास्त्रका किताबहरूमा बेवास्ता गरिएको उद्यमशीलताको अत्यावश्यक योगदानलाई प्रकाश पार्ने प्रयत्न गरेको छ।
किताब कसको लागि हो ?
यस किताबभित्र व्यवसाय व्यवस्थापकहरूले पक्कै पनि आफूलाई फाइदा पुग्ने बृहत् आर्थिक, संस्थागत र नीतिगत सन्दर्भ भेट्न सक्छन्। तथापि, यस किताबको मुख्य पाठक आर्थिक विकासमा नवीनता र उद्यमशीलताको भूमिका बुझ्न इच्छुक सर्वसाधारण नागरिक र मूलधारका अर्थशास्त्रका किताबलाई यान्त्रिक र मानवीय यथार्थसँग बेमेल रहेको बुझ्ने विद्यार्थीहरू हुन् ।
यो किताब विकासोन्मुख देशका पाठकहरू जो आफ्नो देशको अर्थतन्त्रलाई थोरै केन्द्रीकृत र धेरै स्वतन्त्र, खुला, विविधतायुक्त, गतिशील, उत्पादनमूलक र समृद्ध बनाउने इच्छा राख्छन् तिनका लागि महत्वपूर्ण अध्ययन सामाग्री हुनसक्छ । विकसित देशहरूमा यो किताब सार्वजनिक नीति निर्माणमा संलग्न तर उद्यमशीलताको भूमिका र महत्व नबुझेकाका लागि आफ्नो बुझाइ परिष्कृत बनाउनमा सहयोग गर्ने अध्ययन सामग्री हुनसक्छ।
सामान्य अर्थमा उद्यमी भनेको अरू व्यक्तिको जीवनमा परिवर्तन ल्याउन चाहना राख्ने व्यक्ति हो। – सर रिचार्ड ब्रान्सन,संस्थापक, भर्जिन ग्रुप
मूलधारको अर्थशास्त्रको अध्यापनले अर्थतन्त्रलाई अनुमान र नियन्त्रण गर्न सकिने संयन्त्रको रूपमा कल्पना गर्छ। तर, मूलधारको अर्थशास्त्रीय सिकाइ र वास्तविकताबीच एकदमै दूरी छ । वास्तविक आर्थिक जीवनलाई व्यक्ति र व्यक्तिहरूको एक अर्कासँगको सम्बन्धले निर्धारण गर्ने गर्दछ। आर्थिक जीवनलाई व्यक्तिको उद्देश्य र क्रियाले प्रोत्साहन गर्दछ। त्यस्ता व्यक्तिहरूको उद्यमशीलताले मानवीय समृद्धि र विकासलाई बल पुर्याउँछ । तर, मूलधारको अर्थशास्त्रीय विचारधारामा उद्यमशीलताको भूमिकालाई नजरअन्दाज गरिएको छ भने नजानिँदो किसिमले खराब सार्वजनिक नीतिको माध्यमबाट उद्यमशीलताको अन्त्य गर्ने कोसिस गरिएको छ ।
किताबको ढाँचा
यो किताब उद्यमशीलताको कदर गर्ने दिशातर्फको सानो योगदान हो। सुरुआतमा, किताबले हामीलाई किन उद्यमशीलताप्रति चासो राख्न आवश्यक छ भन्ने कुराको व्याख्या गर्छ साथै उद्यमशीलताले नयाँ आविष्कार र समृद्धिमा के अर्थ राख्छ र उद्यमशीलतालाई कसरी प्रचार गर्न सकिन्छ भन्नेमा जोड दिन्छ । त्यसपछिको अध्यायले हामी कसरी सामान्य रूपले उद्यमशीलताको विषयमा धारणा व्यक्त गर्छौँ, उद्यमशीलताको मुख्य विचार के हो र कुन कुराले उद्यमीलाई प्रोत्साहन गर्छ जस्ता विषयमा विचार प्रष्ट पार्ने जमर्को गरेको छ।
चौथो अध्यायले उद्यमशीलताको वास्तविक आर्थिक भूमिका र यसका विभिन्न सिद्धान्तको बारेमा प्रस्ट पार्छ भने पाँचौँ र छैटौँ अध्यायले उद्यमशीलताको आर्थिक, सामाजिक महत्व र विश्वका विभिन्न पेशामा उद्यमशीलताको आश्चर्यजनक व्यापकताको बारेमा प्रष्ट पार्ने कोसिस गरेको छ।
सातौँ अध्यायले सबै किसिमको उद्यमशीलता उत्पादनशील नहुने र उद्यमशीलताले आफ्नो ग्राहकलाई सेवा सुविधा प्रदान गर्नुको साटो नियमनलाई अनावश्यक प्रभावमा पार्न खोजे के कस्तो खतरा उत्पन्न हुन्छ भन्ने बारे विचार व्यक्त गरेको छ।
आठौँ अध्यायले के सरकारले उद्यमशीलतालाई साँच्चै विकासकै लागि प्रोत्साहन गर्छ र ? भन्ने प्रश्न सोधेको छ। प्रश्नको जबाफ सकारात्मक पनि हुन सक्छ तर धेरै अवस्थामा जबाफ नकारात्मक हुन सक्ने सम्भावना रहन्छ । सरकारले के कुरा बिर्सन्छ भने उद्यमशीलता खुला र प्रतिस्पर्धात्मक अर्थतन्त्रमा मात्रै विकसित हुन सक्छ।
अन्तिम अध्यायमा किताबले उद्यमशीलताबाट फाइदा लिन कसरी उपर्युक्त नीति निर्माण गर्ने वातावरण बनाउनु पर्छ भन्ने कुराको व्याख्या गरेको छ।
(बेलायती अर्थशास्त्री इमन् बट्लरको किताब ‘एन इन्ट्रोडक्सन टु एन्टरप्रेनरशिप’ को नेपाली अनुवाद ‘उद्यमशीलता: एक परिचय’ साउन २ गते विराटनगरमा विमोचन हुँदैछ।)


