विराटनगर। भ्रष्टाचार मुद्दामा दोषी करार भएका कोशी प्रदेश सभा सचिव गोपालप्रसाद पराजुली स्वत: पदमुक्त भएपछि कोशी प्रदेश सभा गत माघ ३० गते देखि कार्यवाहक सचिवको भरमा चलेको छ। गत वैशाख ९ गते दोस्रो कार्यकालका लागि नियुक्त पराजुलीले काठमाडौँको स्थानीय विकास अधिकारी रहँदा भ्रष्टचार गरेको सर्वोच्च अदालतले ठहर गरेपछि प्रदेशसभा सचिवविहीन बनेको हो।
सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिँदा भ्रष्टाचार भएको ठहर गर्दै पराजुलीलाई एक करोड २२ लाख जरिवाना र ६ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।
भ्रष्टाचारको मुद्दामा फैसला आएसँगै पदमुक्त भएको पराजुलीको स्थानमा प्रदेश सभाका उपसचिव गौतम राज अमात्यले कार्यवाहक सचिवको भूमिका निर्वाह गर्दै आउनु भएको छ।
पराजुली स्वत: पदमुक्त भएको ६ महिना भैसक्दा पनि प्रदेश सभा संचालन ऐन, २०७६ को परिच्छेद ४ को दफा १२ मा लेखिएको प्रावधान अनुसार पराजुलीको बहिर्गमन नभएकोले नयाँ सचिव नियुक्तीमा अलमल देखिएको छ। उक्त दफाको उपदफाहरूमा प्रदेश सभाको सचिवको पद सभामुख मार्फत प्रदेश प्रमुखलाई राजीनामा पेश गरेमा, पदावधि सकिएमा, विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र लिएमा, ६५ वर्ष पुगेमा, मृत्यु भएमा र सभामुखको सिफारिसमा प्रदेश प्रमुखले पदमुक्त गरेमा लगायतको व्यवस्था छ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि पराजुली प्रदेश सभाको सम्पर्कमा आएका छैनन्।
कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले आफू तयारीमा रहेको भन्दै छिट्टै सचिव नियुक्तीको लागि सिफारिस गर्ने बताउनु भएको छ। उहाँले बढीमा भदौ दोस्रो सत्ता भित्र प्रदेशसभाले नयाँ सचिव पाउने जानकारी दिनु भयो।
प्रदेश सभाको सचिवको नियुक्ती सभामुखको सिफारिसमा प्रदेश प्रदेशले गर्ने व्यवस्था रहेको छ।

