निशान्त ढुङ्गाना / विराटनगर : कोशी प्रदेशसभाले ‘योगदानमूलक निवृत्तीभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८२’ पारित गरेको छ। आज बसेको प्रदेश सभाको सातौँ अधिवेशनको ३२ औँ बैठकले योगदानमुलक निवृत्तीभरण कोष स्थापना र सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो।
आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले निर्णयार्थ पेस गर्नु भएको विधयेक सर्वसम्मतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले जानकारी गराउनु भएको थियो। असार २० गते प्रदेश सभामा दर्ता भएको विधेयकमा नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य शोभा चेम्जोङले हाल्नु भएको संसोधन फिर्ता लिनु भएसँगै विधयेक सर्वसम्मतले पारित भएको थियो।
विधयेक पारित भएसँगै प्रदेशमा योगदानमा आधारित समाजिक सुरक्षा कोष कार्यान्वयनमा आएको छ। विधेयकमा भएको व्यवस्था अनुसार २०८२ साउन देखि प्रदेश निजामति सेवा ऐन र स्थानिय सरकारी सेवा ऐन बमोजिम नियुक्त हुने कर्मचारीहरू योगदानमा आधारित समाजिक सुरक्षा कोषमा आवद्ध हुनेछन्।


