विराटनगर। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उद्योग संगठन मोरङ महिला उद्यम समितिको आयोजनामा “उद्यम यात्रा, अनुभव र उत्प्रेरणा” विषयक युवा उद्यम संवाद कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगर स्थित संगठनको सचिवालयमा युवाहरूसँग उद्यमशीलता सम्बन्धी ज्ञान, अनुभव साझा गर्दै संवाद कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पछिल्लो समय विश्व बजारमा उद्यमशीलताको विकासका सन्दर्भमा युवाहरूको वर्चस्व बढ्दै गएको उल्लेख गर्नु भयो । राठीले युवाहरूको सृजनात्मक सोच, प्रविधिमैत्री दृष्टिकोणले मुलुकको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउन सक्ने सम्भावना बढ्दै गएको बताउँदै संवाद कार्यक्रमले युवा उद्यमशीलता विकासका लागि उत्प्रेरणा दिने विश्वास व्यक्त गर्नु भयो।
संगठनको महिला उद्यम समितिकी इन्चार्ज किरण ब्यासले युवा र महिलाहरूलाई उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो । उहाँले महिला उद्यम समिति सधैँ महिला र युवालाई आत्मनिर्भर बनाउने दिशामा अग्रसर रहने स्पष्ट पार्दै युवा उद्यम संवादले युवा पुस्तालाई व्यावसायिक यात्रा सुरु गर्न हौसला प्रदान गर्ने धारणा व्यक्त गर्नु भएको थियो।
महिला उद्यम समितिकी संयोजक जयन्ती आचार्यले युवाहरू आर्थिक विकासको संवाहक भएको बताउँदै युवाहरूलाई देश भित्रै उद्यमशीलता विकासमा अभिप्रेरित गर्न र युवाहरूलाई आगामी दिनमा स्पष्ट मार्गचित्र प्रदान गर्न कार्यक्रमले सहयोग पुर्याउने आशा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा युवा व्यवसायी रवि गुप्ताले आफ्नो उद्यम यात्राको अनुभव साझा गर्दै व्यवसाय सुरु गर्दा अनेकौँ समस्या र चुनौतीहरू आए पनि निरन्तर प्रयास र सही निर्णयले सफलता प्राप्त गर्न सम्भव भएको बताउनु भयो ।
त्यस्तै, उद्यमी तारादेवी अधिकारीले सामाजिक सञ्जाल र डिजिटल मार्केटिङको सही प्रयोगले व्यवसायलाई छोटो समयमा व्यापक बनाउने अवसर प्रदान गर्ने भएकोले युवाहरू प्रविधिमैत्री हुनुपर्ने धारणा व्यक्त गर्नु भयो।
कार्यक्रममा महिला उद्यम समितिका सदस्यहरू, विराटनगरका विभिन्न कलेजका विद्यार्थीहरू, उद्यमशीलतामा रुची भएका युवाहरू, उद्यमीहरूको सहभागिता रहेको थियो ।


