विराटनगर। विराटनगरमा प्रत्येक वर्ष श्री कृष्ण जन्माष्टमीको भोलि पल्ट निकालिने राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ। भोलि विराटनगरमा निकालिने ५८ औँ संस्करणको राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको हो।
राधाकृष्ण रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले यस पटकको रथयात्रामा राधाकृष्णको युगल मूर्तिलाई नयाँ रथमा रथारोहण गरेर नगर परिक्रमा गराइने बताउनु भयो। उहाँले नयाँ रथको निर्माणमा विराटनगर महानगरपालिकाले ४४ लाख ७८ हजार सहयोग गरेको जानकारी गराउनु भयो।
भदौ १ गते आइतबार निकालिने रथयात्राले विराटनगरको ९ किलोमिटरको दूरी पार गर्ने छ भने रथ ४४ स्थानमा रोकिने अध्यक्ष रेग्मीले बताउनु भयो।
त्यस्तै, भोलि रथयात्राको अवसर पारेर कोशी प्रदेश सरकारले ४ जिल्लामा सार्वजनिक बिदा दिएको छ। कोशी प्रदेश सरकारको वार्षिक क्यालेन्डर अनुसार मोरङ, झापा, उदयपुर र सुनसरीमा भोलि बिदा हुने भएको हो।
प्रदेश सरकारले प्रदेशका चार जिल्लामा राधाकृष्ण रथयात्रा निकालिने भएकोले स्थानीयवासीको सक्रिय सहभागिताका लागि बिदा दिने गरेको छ। विराटनगरबाट प्रचलनमा आएको राधाकृष्ण रथयात्रा अहिले प्रदेशका ४ जिल्लाका विभिन्न स्थानमा निकाल्ने गरिन्छ।
विराटनगरको रथयात्रालाई भने जगन्नाथ पुरीपछि दक्षिण एसियाको दोस्रो ठूलो धार्मिक यात्रा मानिन्छ।
विराटनगरमा वि.सं १९८८ सालमा राधाकृष्णको युगल मूर्तिलाई खटमा विराजमान गरि परिक्रमा गराएर सुरू गरिएको परम्परा वि.सं २०२४ देखि रथयात्रामा परिणत भएको थियो।


