विराटनगर। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले प्रदेश राजस्व कार्यालय उद्घाटन गर्नु भएको छ । आज मन्त्री रानाले सुनसरीको इटहरीमा स्थापना गरिएको कार्यालयको उद्घाटन गर्नु भएको हो।
कार्यालयको उद्घाटन गर्दै मन्त्री मगरले जनतालाई करको बोझ नहुने गरी राजस्व वृद्धि गर्नका लागि कार्यालय सञ्चालनमा ल्याइएको बताउनु भयो। उहाँले प्रदेशको क्षेत्राधिकार भित्रपर्ने विषयमा आवश्यक सहजीकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्नको लागि आजदेखि कार्यालय सञ्चालनमा ल्याइएको स्पष्ट पार्नु भयो।
मन्त्री मगरका अनुसार कार्यालयले कुन कुन क्षेत्रबाट राजस्व उठाउन सकिएको छैन त्यसको पहिचान गरेर कार्यालयले राजस्व उठाउन सहजीकरण गर्नेछ।
प्रदेश सरकारहरूमा पहिलोपटक कोशी प्रदेश सरकारले यस्तो कार्यालय स्थापना गरेको हो।
कार्यालय उद्घाटन समारोहमा कोशी प्रदेश सभाका सदस्यद्वय रमेश बस्नेत र मिना श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रदेशका मुख्यमन्त्रीको आर्थिक सल्लाहकार डा. मोहन सुवेदी लगायतको उपस्थिति रहेको थियो।


