विराटनगर । कोशी प्रदेश सभामा आज ‘ कोशी प्रदेश तथ्याङ्क सम्बन्धी कार्यलाई व्यवस्थित गर्न बनेको विधयेक’ टेबुल हुने भएको छ। आज प्रदेश सभाको सातौँ अधिवेशनको ३५ औँ बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले विधयेक टेबुल गर्ने हुनु भएको हो।
प्रदेश सभाका कार्यवाहक सचिव गौतम राज अमात्यले आजको बैठकमा सामाजिक विकास मन्त्री पाँचकर्ण राईले कोशी प्रदेशमा सरकारी कामकाजको भाषा व्यवस्था गर्न बनेको विधयेकमा जबाफ दिने कार्यसूची समेत रहेको जानकारी दिनु भयो। हाल सभामा सैद्धान्तिक छलफलको क्रममा रहेको सहभागी अधिकांश प्रदेश सभा सदस्यहरूले विधयेकमा थप भाषालाई समावेश गर्नु पर्ने सुझाव दिनु भएको छ।
प्रदेश सभाको ३४ औँ बैठकमा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य सुनिता गच्छदार चौधरीले थारू भाषामै सम्बोधन गर्दै प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई प्रदेशको कामकाज भाषा बनाउने निर्णय गर्दा सरकारले प्रदेशका तराई जिल्लामा बोलिने थारू भाषालाई छुट्याएको बताउनु भएको थियो । उहाँले प्रदेश सरकारले थारू भाषालाई समेत प्रदेशको कामकाजको भाषाको रुपमा अघि बढाउन प्रदेश सरकारसँग माग गर्नु भएको थियो।
त्यस्तै, आजको प्रदेश सभाको बैठकमा उद्योग, पर्यटन र वातावरण समितिका सभापति रामदेव यादवले कोशी प्रदेश वन ऐन, २०७७ लाई संसोधन गर्न बनेको विधयेक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गर्ने कार्यसूचीमा रहेको छ।


