विराटनगर : कोशी प्रदेश सभामा नेकपा एकीकृत समाजवादीकी प्रदेश सभा सदस्य खिनु लङ्वा लिम्बूले सरकारले अघि बढाउने विधयेकहरूमा छलफल गर्न पर्याप्त समय छुट्याउन माग गर्नु भएको छ। आज प्रदेश सभाको सातौँ अधिवेशनको ३७ औँ बैठकको विशेष समयमा बोल्दै लिम्बूले सरकारलाई हतारोमा विधयेक पारित नगर्न आग्रह गर्दै सभामा पर्याप्त छलफल गर्न माग गर्नु भएको हो।
लिम्बूले सामाजिक विकास संस्था ऐन संशोधन गर्न बनेको विधेयक , प्रदेश तथ्याङ्क सम्बन्धी कार्यलाई व्यवस्थित गर्ने विधयेक र सरकारी कामकाजको भाषा विधयेक माथिको सैद्धान्तिक छलफलमा पर्याप्त समय प्राप्त नभएको जिकिर गर्दै छलफलका लागि पर्याप्त समय छुट्याउनु पर्ने बताउनु भएको थियो। उहाँले व्यापक र घनिभूत छलफलले मात्रै विधयेकलाई परिपक्क बनाउने भन्दै यस तर्फ प्रदेश सरकार र प्रदेश सभाको ध्यानाकर्षण गराउनु भएको थियो।
उहाँले विधयेक माथिको सैद्धान्तिक छलफलमा सत्तापक्षको प्रदेश सभा सदस्यले बोल्ने र मन्त्रीले उत्तर दिने चलन बढेको भन्दै एउटा विधयेकलाई कम्तीमा ४ देखि ५ दिनको समय दिएर छलफललाई समय छुट्याउन र एकै दिनमा छलफल सक्ने गरि कार्यसूची नबनाउन समेत आग्रह गर्नु भएको थियो।


