विराटनगर। कोशी प्रदेश सभामा ‘कोशी प्रदेश सभामा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक’को प्रतिवेदन पेस हुने भएको छ। आज प्रदेश सभाको सातौँ अधिवेशनको ३८ औँ बैठकमा न्याय, प्रशासन र विधायन समितिकी सभापति कमला दर्नालले विधयेकसमितिको प्रतिवेदन पेस गर्ने हुनु भएको हो।
प्रतिवेदन सहित विधयेक पेस हुने भएपछि भने पत्रकारका संगठनहरूले विधयेकको प्रेस स्वतन्त्रा विरोधी प्रावधान स्वीकार नहुने धारणा प्रष्ट परेका छन्। विधयेकमा पत्रकारलाई दण्ड-कारबाहीको व्यवस्था गरिएकोले उक्त प्रावधानले स्वतन्त्र पत्रकारिताको अधिकारलाई संकुचित बनाउने भन्दै पत्रकार संगठनहरूले विरोध जनाएका हुन्।
नेपाली पत्रकार महासंघका कोशी प्रदेश समिति अध्यक्ष भरतबहादुर खड्काले विधयेक अहिलेको स्वरुपमा ग्रहण गर्न नसकिने बताउनु भएको छ। खड्काले विधयेक अहिलेको स्वरुपमा पारित भए आन्दोलनको विकल्प नहुने धारणा स्पष्ट पार्नु भएको हो।
त्यस्तै, संसदीय पत्रकार मञ्च कोशी प्रदेश समितिले समितिले सरोकारवालाहरूसँग परामर्श र छलफल गरेर पनि समितिले सुझाव स्वीकार नगरी विधयेकमा पत्रकारलाई दण्ड-कारबाहीको प्रावधान राखेको भन्दै आपत्ति जनाएको छ। मञ्चका अध्यक्ष कुमार लुइँटेलले प्रेसलाई नियन्त्रण गर्न ल्याइएको विधयेकले प्रेसलाई नियन्त्रण गर्ने र लोकतन्त्र कमजोर पार्ने भन्दै स्वीकार गर्न नसकिने बताउनु भएको छ।


