विराटनगर। व्यावसायिक लगानी खोज्ने र लगानी गर्न चाहनेकोबीचमा पुलको काम गर्ने उद्देश्य साथ विराटनगरमा विराटनगर एन्जल ईन्भेष्टर्स नेटवर्क (वेन) को स्थापना गरिएको छ । उद्योग संगठन मोरङको अगुवाईमा नवप्रवर्तनमा आधारित उद्यम व्यवसायमा संलग्न उद्यमीहरूका लागि व्यावसायिक साझेदार खोजी सहज होस् भन्ने उद्देश्यसाथ नेटवर्कको स्थापना गरिएको हो।
‘आइडिया टु ईम्पयाक्ट’ भन्ने मूल नारासाथ सुरु गरिएको नेटवर्कको औपचारिक शुभारम्भ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देशकै पहिलो लगानीकर्ताहरूको नेटवर्कसँग प्रदेश सरकारले साझेदारी गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो। लगानीको अधिक सम्भावना भएको कोशी प्रदेशमा उद्यमशीलताको प्रवर्द्धन गर्न र लगानी र लगानीकर्ताबीच सहर्काय गर्ने नेटवर्कको कार्यको प्रशंसा गर्दै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने समेत बताउनु भएको थियो।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले नवउद्यमीहरूलाई वित्तीय चुनौतीको अभाव दीर्घकालीन किसिमले पूर्ति गर्न सहयोग गर्ने लक्ष्यसाथ नेटवर्कको स्थापना गरिएको जानकारी दिनु भयो। उहाँले नेटवर्कले लगानीयोग्य परियोजनाहरू छनोट गर्दै स्टार्टअपहरूका लागि वित्तीय पहुँचको अवसर र व्यवसायका लागि उपयुक्त वातावरण निर्माण गर्न भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो।
विराटनगर एन्जल इनभेष्टर्स नेटवर्कका संयोजक सुयश प्याकुरेलले ५ वर्षअघि उद्योग संगठनमा स्टार्टअप कार्यक्रम प्रारम्भ गर्दा यसको भविष्यप्रति चिन्ता भएको भएतापनि सहयोगी हातहरु वढदै गएका कारण छोटो समयमै सय स्टार्टअप आइडिया सफलतापूर्वक इन्क्युबेट गर्न सकेकोमा खुशी व्यक्त गर्नु भएको थियो । उहाँले सानो स्तरका विशेषत पहिलो पुस्ताका स्टार्टअपलाई लगानी जुटाउन गाह्रो हुने भएकाले नेटवर्क मार्फत सम्भावना बोकेका आइडियालाई लगानी तथा व्यवसायीक सेवा प्रदान गर्ने जानकारी गराउनु भयो।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजु थपलियाले विश्वविद्यालयले यस कार्यक्रमलाई थप प्रोत्साहन गर्न विश्वविद्यालय सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले उद्यमशीलताको विकास गर्ने विश्वविद्यालयको समेत जिम्मेवारी भएकाले त्यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो।
कोशी प्रदेशलाई नविन उद्यमशिलताको विकासको हब बनाउने अभिप्रायका साथ स्थापना गरिएको विराटनगर एन्जल इनभेष्टर्स नेटवर्कलाई स्वीस कन्ट्याक्ट (सहज परियोजना) र ईन्भेष्टमेन्ट इन्फ्राको प्राविधिक सहयोग रहेको छ ।


