विराटनगर। कोशी प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को विरोध गर्दै पत्रकारहरूले साङ्केतिक प्रदर्शन गरेका छन्। आज विराटनगर स्थित देवकोटा चोकमा भेला भएर मुखमा कालो टेप र पट्टी बाँधेर उल्टो हिँड्दै पत्रकारहरूले विधेयक विरुद्ध प्रदर्शन गरेका हुन्।
नेपाल प्रेस युनियन कोशी प्रदेश समितिको आयोजनामा साङ्केतिक प्रदर्शन कार्यक्रममा पत्रकारहरूले देवकोटा चोक देखि हाटखोला कारागार सम्म उल्टो हिँड्दै विधेयकको विरोध गरेका हुन्।
युनियन कोशीका अध्यक्ष मीनकुमार श्रेष्ठले विधेयकले प्रस्ताव गरेको प्रेसलाई नियन्त्रण गर्ने प्रावधानको विरोध गर्दै उल्टो हिँड्दै विधेयकको विरोध गरेको बताउनु भयो। उहाँले विधेयकको प्रावधान भविष्यमुखी नभएर अतित केन्द्रित रहेकोले उल्टो हिँडेको जानकारी दिनु भयो।
प्रदेश सभाको न्याय, प्रशासन र विधायन समितिकी सभापति कमला दर्नालले गत शुक्रवार प्रदेश सभामा समितिको प्रतिवेदन सहित विधेयक पेस गरिपछि विधेयकमा रहेको नियन्त्रणमुखी बुँदाको विरोध गर्दै पत्रकारहरू प्रदर्शन गरिरहेको छन्। गत शुक्रवार नेपाल पत्रकर महासङ्घ कोशी प्रदेश समितिको नेतृत्वमा प्रदेश सभा अघि धर्नामा बसेको बेला प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र पत्रकारबिच घम्साघम्सी समेत भएको थियो।


