विराटनगर। नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेश समितिले कोशी प्रदेश सरकारका मन्त्रीहरूसँग अन्तरक्रिया गरेको छ। शनिबार सिएनआईका केन्द्रीय अध्यक्ष विरेन्द्र राज पाण्डेको उपस्थितिमा कोशी प्रदेश समितिले मन्त्रीहरूसँग अन्तरक्रिया गरेको हो।
अन्तरक्रिया कार्यक्रममा बोल्दै सिएनआई कोशीका अध्यक्ष पवनकुमार सारडाले प्रदेश सरकारले अहिले सम्म पनि लगानीको ग्यारेन्टी र विश्वासको वातावरण निर्माण गर्न नसकेको गुनासो गर्नु भएको थियो। उहाँले विद्युतको समस्याले अझै उद्योगीलाई दुख दिइरहेको र थप भारतीय नीतिको कारण पाम आयल, भेनियर प्लाईउडको निर्यातमा समेत अवरुद्ध भएकोले प्रदेश सरकारले समस्या निराकरण गर्न केन्द्रीय सरकारलाई पर्याप्त ध्यानाकर्षण गराउनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो।
अध्यक्ष सारडाले प्रदेश सरकारलाई दिगो औद्योगिक नीति निर्माण गर्न र स्थानीय बजारको खस्किएको अवस्थालाई उत्थान गर्ने गरि नीति बनाउन जोड गर्नु भएको थियो।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले सिएनआईले उठाएका विषयप्रति प्रदेश सरकार गम्भीर रहेको बताउँदै समस्या समाधानको लागि पहल गर्ने आश्वासन दिनु भएको थियो। उहाँले सरकारले आर्थिक नीति तथा कार्यक्रम निर्माणको क्रममा सिएनआई लगायत संस्थाहरूसँग छलफल गरेको स्मरणलाई उपयुक्त सुझावलाई ग्रहण गरेको समेत स्मरण गर्नु भएको थियो।
मन्त्री रानाले कोशी प्रदेशमा उत्पादनका स्रोतहरू पर्याप्त मात्रामा रहेकोले प्रदेशकै कच्चा वस्तुलाई प्रयोग गरेर उत्पादन थाल्न आग्रह गर्दै सो क्रममा आवश्यक सहयोग सरकारले गर्ने बताउनु भएको थियो।
त्यस्तै, प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रदेशको विकासका निम्ति अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न सरकारलाई भन्दा निजी क्षेत्रलाई सहज हुने भन्दै सरकारले सो प्रक्रियाको पुलको रुपमा काम गर्ने धारणा व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री अमनलाल मोदीले सुनसरी-मोरङ औधोगिक कोरिडोरका उद्योगहरूको संरक्षण तथा मागहरू आफूले सदन भित्र र बाहिर गम्भीर रुपमा उठाउने गरेको बताउँदै आफू सदैव उद्योगी-व्यसायीको शुभचिन्तक रहेको धारणा राख्नु भएको थियो।
परिसंघका केन्द्रीय अध्यक्ष विरेन्द्र राज पाण्डेले उद्योग व्यवसायको प्रवर्द्धनले मात्रै नेपालले दोहरो अंकको आर्थिक वृद्धि हासिल गर्न सक्ने धारणा राख्दै उक्त लक्ष्य हासिलका सरकारलाई सबै किसिमको सहयोग गर्न सिएनआईले तयार रहेको प्रष्ट पार्नु भएको थियो। पाण्डेले सिएनआई कोशीले सुरू गरेको ‘इन्क्युबेसन सेन्टर’को अवधारणालाई सिएनआईको केन्द्रीय सम्पूर्ण प्रदेश समितिमा विस्तार गरिने बताउनु भएको थियो।

अन्तरक्रिया कार्यक्रममा सिएनआई कोशीले उद्योग परिसंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भए पश्च्यात पहिलो पल्ट विराटनगर आउनु भएका केन्द्रीय अध्यक्ष विरेन्द्र राज पाण्डेलाई स्वागत तथा सम्मान समेत गरिएको सिएनआई कोशीका महानिर्देशक विजयहरि शर्माले बताउनु भयो।
कार्यक्रममा महानिर्देशक शर्माले सिएनआई कोशीले गरेको काम र भावी कार्ययोजना समेत प्रस्तुत गर्नु भएको थियो।
अन्तरक्रिया कार्यक्रममा सिएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, प्रमुख सल्लाहकार महेश जाजु, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा लगायत सिएनआई कोशी कार्यसमितिका पदाधिकारी, सदस्यहरूको उपस्थिति रहेको थियो।


