विराटनगर। सरकारलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध निर्णय गरेको छ। आज मन्त्रालयमा बसेको बैठकले सर्वोच्च अदालतको पूर्ण इजलासको आदेशको परिपालनाका लागि मन्त्रिपरिषद्को बैठकले भदौ ९ गतेको निर्णय अनुसार दर्ता नभएका सामाजिक सञ्जाललाई प्रतिबन्ध गराउने निर्णय गरेको हो।
मन्त्रालयले आज जारी गरेको सूचना अनुसार भदौ ९ गते मन्त्रालयको ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम ७ दिनको म्याद दिएर सूचीकरण गर्न समयसीमा तोकेकोमा उक्त समय भित्र सूचीकरण गर्न नआएको सामाजिक सञ्जाललाई निष्क्रिय गराउने र सूचीकरण गरेमा पुन: सक्रिय गराउने निर्णय गरेको उल्लेख गरेको छ। सूचना अनुसार आज रातीदेखि दर्ता नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्ने छ।

हालसम्म मेटा, अल्फाबेट, एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।
कुन- कुन चल्छ ?
सरकारले दर्ता नभएको सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने निर्णय गरे पनि नेपालमा दर्ता भएका सामाजिक सञ्जालमा भने कुनै असर पर्ने छैन। हाल नेपालमा सूचीकृत भएका टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ जस्ता सामाजिक सञ्जाल भने निर्वाध रूपमा चल्ने छ।
त्यस्तै, सूचीकरण प्रक्रियामा रहेका टेलिग्राम र ग्लोबल डायरीसमेत निर्वाध रूपले चल्ने छन्।


