विराटनगर। भोलि (भदौ २३) कोशी प्रदेशको राजधानी विराटनगरमा समेत जेन-जी पुस्ता (सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएका )ले प्रदर्शन गर्ने भएका छन् । भोलि काठमाडौँको माइतीघरमा जेन-जी पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचारको विरुद्धमा प्रदर्शनको तयारी गरिरहँदा विराटनगरमा समेत उक्त पुस्ताको प्रदर्शन हुने भएको हो।
विराटनगरका जेन-जी पुस्ताका युवाहरूले सामाजिक सञ्जालमा प्रदर्शन सम्बन्धी सूचना सम्प्रेषण गर्दै बिहान ११ बजे विराटनगरको संसारी माईस्थानमा भेला भएर जिल्ला प्रशासन कार्यालय, मोरङ सम्म र्याली निकाल्दै प्रदर्शन गर्ने तयारी गरेका छन्। त्यस्तै, केही भने दिउँसो १२ बजे देखि विराटनगरको महेन्द्र चोकमा भेला भएर कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सम्म र्याली निकाल्दै प्रदर्शन गर्ने तयारी गरेको सूचना सम्प्रेषित गरिरहेका छन्।

प्रदर्शनको आह्वान गर्दै सार्वजनिक पोस्टरमा भने पारदर्शिता, जवाफदेहीता र सुशासनको माग गर्दै भ्रष्टाचारको विरुद्धमा प्रदर्शन हुने उल्लेख गरिएको छ।
दुई स्थानमा भेला हुने जानकारी साझा भैरहेको अवस्थामा अन्तिम समयमा कुनै एक स्थानबाट प्रदर्शन गर्ने युवाहरूको तयारी छ।
जेन-जी पुस्ताले प्रदर्शन गर्ने सूचना सम्प्रेषित गरिरहँदा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने आइतबार कार्यालय समय सम्म कुनै पनि समूहले सोमबार विराटनगरमा प्रदर्शन गर्ने अनुमति नलिएको बताउनु भएको छ। यादवले सोमबार दिउँसोको १२ बजे महेन्द्र चोकमा जेन-जी पुस्ताले प्रदर्शन गर्ने कुरा अनौपचारिक माध्यमबाट जानकारीमा आएको बताउँदै औपचारिक रूपमा कुनै समूह वा व्यक्तिले अनुमति नलिएको जानकारी दिनु भएको छ।


