विराटनगर । जेन-जी पुस्ताको आह्वानमा विराटनगरमा भएको प्रदर्शनका प्रदर्शनकारीले विराटनगर महानगरपालिकाको कार्यालयमा रहेको जीर्ण राष्ट्रिय झण्डा फेरिदिएका छन्। आज विराटनगरमा भएको प्रदर्शनका एक प्रदर्शनकारीले महानगरको कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा कार्यालयको ढोकामाथि रहेको जीर्ण राष्ट्रिय झण्डा फेरिदिएका हुन्।
विराटनगर स्थित संसारी माईस्थानबाट सुरु भएको प्रदर्शन रोडशेष चोक, जिल्ला प्रशासन कार्यालय, मोरङ अगाडि हुँदै विराटनगर महानगरपालिकाको पुगे पछि प्रदर्शनकारीले कार्यालयको मुख्य ढोकामाथिको झण्डा फेर्न होहल्ला गरेका थिए। प्रदर्शनकारीहरूले तत्काल राष्ट्रिय झण्डा फेर्नु पर्ने भन्दै नारा लगाए पछि एक प्रदर्शनकारीले ढोकामाथि चढ्दै जीर्ण झण्डालाई प्रदर्शनको क्रममा ल्याएको झण्डा फेरिदिएका थिए।
झण्डा फेरे पछि प्रदर्शनकारीहरूले राष्ट्रिय गान र ‘रातो र चन्द्र सूर्य’ गाएर खुसियाली मनाएका थिए। महानगरको कार्यालय अगाडि प्रदर्शनकारीले विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला विरुद्ध नाराबाजी गरेका थिए।


