विराटनगर। जिल्ला प्रशासन कार्यालय, मोरङले विराटनगरको विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ। आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान ११ बजे देखि रातीको १० बजे सम्मका लागि कर्फ्यु आदेश जारी गर्ने निर्णय गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विभिन्न समूह र पक्षले माग राखी गरेको प्रदर्शनमा हिंसात्मक गतिविधि लगायत हुलदंगा र आशान्ति हुनसक्ने भएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गर्नु भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा जेन-जी पुस्ताको प्रदर्शनको विषयमा उल्लेख नगरे पनि विराटनगरको विभिन्न स्थानमा जेन-जी प्रदर्शनकारीहरूले प्रदर्शन गर्ने तयारी गरेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। जेन-जी प्रदर्शनकारीले आज विराटनगरमा कोशी प्रदेश सभा अगाडि प्रदर्शन र ११ बजे देखि सवारीसाधन आवागमन ठप्प पार्ने तयारी गरेको थियो।

विराटनगरमा कोशी प्रदेश सभा, मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री आवास क्षेत्र, प्रदेश प्रमुखको कार्यालय, विराटनगर महानगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यलय, प्रदेश प्रमुख निवास आसपासका क्षेत्र र नेपाल-भारत आइसीपी क्षेत्रको ३०० मिटरको दूरी सम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।
कर्फ्यु जारी गरिएको क्षेत्रमा सर्वसाधारण र सवारी आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, धर्ना, भेला जस्ता कार्य नगर्न नपाउने आदेशमा उल्लेख गरिएको छ।
जेन-जी प्रदर्शनको क्रममा आइतबार विराटनगरमा प्रदर्शनकारीहरूले विराटनगर महानगरपालिकाको कार्यालयमा पानीको बोत्तल प्रहार र प्रदेश सभा अगाडि प्रहरीको ब्यारिकेड तोडेर प्रदर्शन गरेका थिए।


