विराटनगर। मंगलबारको जेन-जी पुस्ताको आन्दोलनमा विराटनगरका अधिकांश केन्द्रीय सरकार मातहतको कार्यालय र प्रदेशका प्रमुख कार्यालयहरू जलेर ध्वस्त भएका छन्। हिजो जेन-जी प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोड्दै विराटनगरका सरकारी कार्यालयहरूमा आगो लगाउँदा अधिकांश कार्यालय ध्वस्त भएका हुन्।
विराटनगरमा रहेको कोशी प्रदेश सभाको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सरकारका मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, मोरङ, उच्च अदालत विराटनगर, मोरङ जिल्ला अदालतलगायतका कार्यालयहरू प्रदर्शनकारीले लगाएको आगलागीमा परि पूर्ण ध्वस्त बनेका छन्।
त्यस्तै, विराटनगरको पाञ्चालीमा रहेको नेकपा एमालेको प्रदेश पार्टी कार्यालय समेत आगलागीमा ध्वस्त भएको छ भने डिभिजन वन कार्यालय, मोरङको मार्गमा नेपाली कांग्रेसको प्रदेश पार्टी कार्यालयमा समेत तोडफोड भएको छ।
मंगलबार रातीको १० बजे देखि केही शान्त भएको विराटनगरमा निजी लगानीमा रहेको भाटभटेनी सुपर मार्केटमा समेत लुटपाट र आगजनी भएको छ। यद्यपि विराटनगर जेन-जी समूहले एक विज्ञप्ति जारी गर्दै भाटभटेनीमा भएको लुटपाट र आगजनीमा उक्त समूहको सहभागिता नरहेको जनाएको छ।


