विराटनगर। मंगलबार देशभरि भएको जेन-जी पुस्ताको आन्दोलनमा विराटनगरमा निजी लगानीमा संचालनमा रहेको दुई व्यापारिक संस्थामा क्षति भएको छ। जेन-जी आन्दोलनमा विराटनगरमा रहेको भाटभटेनी सुपर मार्केटमा आगजनी र होटेल ह्यारिसन प्यालेसमा तोडफोड र लुटपाट भएको छ।
प्रदर्शनको दिन लुटपाट, तोडफोड हुँदै आगजनी भएको विराटनगरको भाटभटेनी पूर्णरुप ध्वस्त भएको छ भने होटेल ह्यारिसनमा तोडफोड र लुटपाट भएको छ। होटेल ह्यारिसनमा समेत आगजनीको प्रयास हुँदा स्थानीयले प्रदर्शनकारीलाई सम्झाई-बुझाई गर्दा लुटपाट र तोडफोड मात्रै भएको एक प्रत्यक्षदर्शीले नाम नबताउने सर्तमा जानकारी दिएका छन्।
मीनबहादुर गुरुङ्गको लगानीमा रहेको भाटभटेनीको देशभर रहेको २८ वटा शाखा मध्ये २३ वटामा प्रदर्शनकारीले लुटपाट, तोडफोड र आगजनी गरेका थिए भने होटेल ह्यारिसनमा नेकपा एमालेका केन्द्रीय सदस्य मोती दुगडको प्रमुख लगानी रहेको छ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विराटनगर आउँदा होटेल ह्यारिसनमा बस्ने गरेकोले प्रदर्शनकारीले होटेललाई तारो बनाएको बुझिएको छ।


