विराटनगर । कोशी प्रदेश सरकारले जेन-जी आन्दोलनमा ध्वस्त बनेका प्रदेश सरकार मार्फतका सरकारी कार्यालयको पुनर्निर्माणका लागि स्रोत जुटाउन ५ लाख रुपैयाँभन्दा कम लागतका सम्पूर्ण पुँजीगत योजनाहरू स्थगित गर्ने निर्णय पनि गरेको छ । आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्को १६ औं बैठकले ५ लाख कमका योजना स्थगित गर्दै आन्दोलनका क्रममा प्रदेश सरकारका मन्त्रालय, मातहतका कार्यालय, भवन, उपकरण, सवारी साधनलगायतमा भएको समग्र क्षतिको मूल्याङ्कन गर्ने निर्णय गरेको हो।
बैठकले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयलाई आगामी कार्तिक ९ गतेभित्र क्षतिको यथार्थ विवरण र पुनर्निर्माणका लागि लाग्ने अनुमानित लागतसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । त्यस्तै, तोडफोड तथा आगजनीबाट क्षति भएका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधनको अवस्थाबारे असोज मसान्तभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
मन्त्रिपरिषद्को बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई तालिम, गोष्ठी, सेमिनारजस्ता कार्यक्रमहरू स्थगित गरी पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन गर्न गृहकार्य गर्न निर्देशन दिइएको छ ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने र प्रदर्शनमा घाइते भएका सबैको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको जानकारी दिनु भयो ।


