विराटनगर – जेन-जी आन्दोलनमा आगजनीमा विराटनगरस्थित कोशी प्रदेश सभा भवन ध्वस्त भएपछि सचिवालयले प्रदेश सभाको बैठक विराटनगरको वीरेन्द्र सभा गर्ने तयारी गरेको छ। प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टको अध्यक्षतामा सम्पन्न सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले विराटनगरको सभागृह प्रदेश सभाको लागि उचित हुने जनाएको हो।
प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले प्रदेश सरकारलाई सभागृहमा बैठक सञ्चालनका लागि पत्राचार गरिसकिएको जानकारी दिनु भयो।
औपचारिक रुपमा प्रक्रिया पुरा हुन बाँकी रहेको बताएका उहाँले प्रदेश सभा बैठकका लागि सभागृहको प्रयोग गर्न विराटनगर महानगरपालिकालाई प्रस्ताव समेत पठाएको बताउनु भयो ।
त्यसैगरी, महानगरका राजस्व महाशाखा प्रमुख सरोज गौतमले सभागृह भाडामा दिनेबारे प्रस्ताव आएको बताउनु भयो । नगर विकास कोष र आन्तरिक स्रोतको लगानीमा २० करोड रुपैयाका लागतमा पुनःनिर्माण गरिएको सो भवनलाई प्रदेश सभा बैठक सञ्चालनका लागि निर्णय प्रक्रिया सुरु नभएको बताउनु भयो।


