विराटनगर। पुस्तकालयका लागि पुस्तक संकलन गर्ने उद्देश्यसाथ विराटनगरका युवाहरूको देउसी-भैलो देउसी-भैलो कार्यक्रम सम्पन्न भएको छ। विकल्प एन अल्टरनेटिभको संयोजनमा युवाहरूको दुई दिने देउसी भैलो कार्यक्रम सम्पन्न भएको हो।
विकल्पको कार्यालयमा रहेको खुला पुस्तकालयमा पुस्तक संकलन र थप गर्ने उद्देश्य साथ विगत ११ वर्षदेखि युवाहरूको सहभागितामा देउसी-भैलो खेलिरहेको विकल्पकी कार्यक्रम संयोजक रानु साहले जानकारी दिनु भयो। देउसी-भैलोको क्रममा संकलित पुस्तकहरू पुस्तकालयमा राख्ने र उठेको रकमले पुस्तकालयका लागि थप पुस्तक खरिद गर्ने गरिएको साहले बताउनु भयो।

विकल्पमा रहेको पुस्तकालय सम्पूर्ण विराटनगरवासीका लागि सदैव खुला रहेको संस्थाको संस्थापक तथा कार्यकारी निर्देशक वसन्त अधिकारीले बताउनु भयो । विकल्पको पुस्तकालयमा रहेका पुस्तकहरू समय-समयमा विभिन्न सामाजिक संस्थाहरू र प्रहरी कार्यालयका पुस्तकालयहरूमा समेत हस्तान्तरण गर्दै आएको अधिकारीले जानकारी दिनु भयो
देउसी-भैलो कार्यक्रमबाट सुरु गरिएको पुस्तकालयमा हाल झन्डै २ हजार पुस्तक रहेको अधिकारीले जानकारी दिनु भयो।


