विराटनगर। नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश समितिको आयोजनामा प्राविधिक शिक्षा र औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप) कार्यक्रम सम्बन्धी अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। आज विराटनगरमा सीएनआई कोशीको आयोजना र परिसंघ केन्द्रीय समिति तथा हेल्भटास नेपाल अन्तर्गतको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) को सहकार्यमा अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै सीएनआई कोशीका अध्यक्ष पवनकुमार शारदाले हालको समयमा नेपाली विद्यार्थीहरूको प्राथिमिकतामा प्राविधिक र रोजगारीमुखी शिक्षा रहेको बताउनु भएको थियो। उहाँले प्राविधिक शिक्षा र औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप) लाई उद्योगीहरूले गम्भीरता साथ लिँदा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण पहल हुने धारणा व्यक्त गर्नु भएको थियो।
इन्स्योर परियोजनाका निजी क्षेत्र सम्बन्धी विशेषज्ञ लोकराज जोशीले प्राविधिक शिक्षा र औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप) कार्यक्रम अध्ययन गर्दै काम सिक्ने कार्यक्रम रहेको बताउनु भएको थियो। उहाँले उक्त कार्यक्रम प्राविधिक विद्यालय र उद्योगबीचको सहकार्य समेत भएकोले कार्यक्रमले दक्ष जनशक्ति उत्पादनमा भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नु भएको थियो।
त्यस्तै, मनमोहन स्मृति पोलिटेक्निकका प्राचार्य सुदीप अधिकारीले औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम सैदान्तिक र प्रयोगात्मक शिक्षाको समिश्रण रहेकोले उक्त कार्यक्रमले आवद्ध विद्यार्थीलाई रोजगारमुखी बनाउने धारणा व्यक्त गर्नु भएको थियो।
अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशका अधिकारीहरू, मोरङमा सक्रिय औद्योगिक-व्यापारिक क्षेत्रका संस्थाका पदाधिकारीहरू, प्राविधिक धार अध्यापन गराउने शिक्षालयका शिक्षकहरूको उपस्थिति रहेको सीएनआई कोशीका महानिर्देशक विजयहरि शर्माले जानकारी दिनु भयो।


