विराटनगर। सरकारले ०८१ फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तय गरेपछि निर्वाचन आयोगले ०८२ असोज १० गतेदेखि सञ्चालन गरेको नयाँ मतदाता नामावली दर्तामा कोशी प्रदेशबाट १ लाख ५७ हजारले मतदाता नामावलीका लागि निवेदन दिएका छन् ।
निर्वाचन आयोगले ०८२ असोज १० गतेदेखि कात्तिक समान्त र पाँच दिन समय थप गरी मङ्सिर ५ गते सञ्चालन गरेको फोटोसहित नयाँ मतदातावली नामावलीमा कोशी प्रदेशमा १ लाख ५७ हजार जनाले निवेदन दिएको प्रदेश निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।
कोशी प्रदेशका जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयबाट र राष्ट्रिय परिचय पत्रका आधारमा अनलाईन मार्फत गरी १ लाख ५७ हजार ६ सय १३ जनाले मतदाता नामावली दर्ताका लागि निवेदन दिएको प्रदेश निर्वाचन कार्यालय, विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले बताउनु भयो ।
निर्वाचन कार्यालयहरूमा पुगेर नामावली दर्ताका लागि ५८ हजार ९ सय २५ जनाले निवेदन दिएका छन । अनलाईन मार्फत ९८ हजार ६ सय ८८ जनाले निवेदन दिएका छन । ०८२ असोज १० गते अघिसम्म कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९ सय मतदाता थिए ।
मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय मार्फत र अनलाईन दुवै गरी ताप्लेजुङबाट ३ हजार, पाँचथरबाट ४ हजार ३ सय ८९ जना, इलामबाट ६ हजार ६४ जना, संखुवासभाबाट २ हजार ८ सय ८ जना, तेहृथुमबाट ३ हजार ६ सय ७७ जना, धनकुटाबाट ३ हजार २ सय ७२ जना, भोजपुरबाट २ हजार ९ सय ९ जना, खोटाङबाट ४ हजार १ सय ६२ जना, सोलुबाट ५ सय ८० जना, ओखलढुङ्गाबाट ५ हजार ९ सय ३२ जना, उदयपुरबाट ८ हजार ७ सय १७ जना, झापाबाट ३५ हजार ३ सय १९ जना, सुनसरीबाट ३२ हजार ३ सय ८२ जना र प्रदेश निर्वाचन कार्यालय विराटनगरबाट ४४ हजार ४ सय २ जनाले निवेदन दिएको प्रारम्भिक तथ्यांङ्क भएको सूचना अधिकारी तीर्थ अधिकारीले बताउनु भयो ।
निर्वाचन आयोगले आफू बसेको स्थानको निर्वाचन कार्यालयबाट वा कुनै आफ्नो अनुकुल पर्ने निर्वाचन कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । मतदाता नामावली दर्ताका लागि असोज १० देखि मंसिर ५ गते सम्मको अवधिमा निवेदन दिएकाहरु सवै फागुन २१ गते हुने निर्वाचनका मतदाता नहुने प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तिर्थ अधिकारीले बताउनुभयो ।
१६ वर्ष पुरा भई नागरिकता प्राप्त गरेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गरेपनि फागुन २० गते सम्म १८ वर्ष पुरा भएकाहरु मात्रै फागुन २१ को निर्वाचनको मतदाता हुने उहाँले बताउनुभयो ।
मंसिर ५ गते सम्म नामावली दर्ताका लागि निवेदन लिने काम भएकाले अहिले मतदाताहरुको नामावली अद्यावधिक गर्ने काम भईरहेको सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार निवेदन दिनेहरु दोहोरिएको हुन सक्ने, पायक पर्ने स्थानबाट नामावली दर्ताका लागि निवेदन दिएपनि अन्यत्र जिल्लाको पनि मतदाता हुने, त्रुटी भएकाहरुको सच्याउने र ठाउँ सारी भएकाहरु सवैको अद्यावधिक गरि मंसिर २० गते निर्वाचन आयोगमा अन्तिम नामावली पठाइने छ ।
जिल्ला र प्रदेश निर्वाचन कार्यालयहरुबाट अद्यावधिक भएर गएपछि फागुन २१ गते हुने निर्वाचनको मतदाता नामावली पुस २३ गते आयोगले सार्वजनिक गर्ने तालिका रहेको अधिकारीले बताउनु भयो ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश असोज ८ गते जारी गरेपछि असोज १० देखि मतदाता नामावली संकलन शुरु गरिएको थियो ।


