नेपालका तराई क्षेत्रका सहरहरूमा ‘सिटी रिक्सा’ (ई-रिक्सा) ले अहिले लाखौँ मानिसहरूको लागि आयस्रोत मात्र नभई जीवनयापनको एउटा मुख्य आधार बन्न पुगेको छ। स्वदेशमा रोजगारीका अवसरहरू कम हुँदा धेरै नेपालीहरू विदेशिनु पर्ने बाध्यतालाई ई-रिक्साले केही हदसम्म कम गरी स्वदेशमै रोजगारी सिर्जना गर्न सफल भएको छ। यसका साथै, यसले लाखौँ यात्रुहरूलाई सस्तो र सुलभ यातायात सेवा प्रदान गरी उनीहरूको समय र पैसा बचत गर्न ठूलो सहयोग पुर्याएको छ।
सबैभन्दा महत्त्वपूर्ण पक्ष त यो छ कि यसले न्यून आय भएका धेरै व्यक्तिहरूलाई स्वरोजगार र मालिक बन्ने अवसर दिएको छ, जसले उनीहरूको आत्मसम्मान र स्वाभिमानलाई माथि उठाउन सहयोग गरेको छ। हाम्रो दैनिक जीवनमा ई-रिक्साको भूमिकालाई मध्यनजर गरि विकल्प-एन अल्टरनेटिभ ले ‘नेपाली समाजमा ई-रिक्साको योगदान’ शीर्षकमा राष्ट्रव्यापी भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।
यस प्रतियोगिताको मुख्य उद्देश्य ई-रिक्साको सामाजिक योगदानबारे जनचेतना जगाउनु र युवाहरूलाई यस विषयको छलफलमा सक्रिय रूपमा सहभागी गराउनु रहेको छ। अनलाइन माध्यमबाट सञ्चालन गरिने यस प्रतियोगितामा सहभागी हुन चाहनेले आफ्नो भिडियो २०८२ साल मंसिर १७ गतेदेखि पौष २ गते ४ बजेसम्म पठाउन सक्नेछन्।
प्रतियोगिताका लागि तोकिएका नियमअनुसार भिडियोको लम्बाई बढीमा ४ मिनेट सम्मको विषयवस्तुको सेरोफेरोमा केन्द्रित हुनुपर्नेछ। प्रतियोगीहरूले नेपाली वा मैथिली जुनसुकै भाषामा एक्लै वा समूहमा भिडियो बनाएर पठाउन सक्नेछन्। आफ्नो नाम, उमेर, ठेगाना र सम्पर्क नम्बरसहित तयार पारिएको भिडियोलाई ड्राइभमा अपलोड गरी त्यसको लिङ्क pawankafle39@gmail.com वा ह्वाट्सएप नम्बर ९८६२९३६९४०/९८१७३८९७०४ मा पठाउनुपर्नेछ।
यो प्रतियोगितामा कुल ६०,०००/- रुपैयाँ बराबरको पुरस्कार राशि राखिएको छ, जसअनुसार प्रथम हुनेले २५,०००/- द्वितीय १८,०००/- तृतीय १०,०००/- र चौथो हुनेले ७,०००/- नगद सहित सर्टिफिकेट प्राप्त गर्नेछन्। नतिजाको घोषणा पौष २३ गते गरिनेछ।


