केहि मानिसहरु डुंगामा नदि पार गर्दै थिए l नाउ बीच नदिमा पुगेपछि एकजना व्यक्तिले झोलाबाट छेनी र हतौडा निकालेर आफु बसेको ठाउमा दुलो पार्न थाल्दछ l केहि मानिसहरु अचम्म पर्दछन् भने केहि डराएर कराउन थाल्छन् l ति मद्धे कसैले उसलाई “ए के गरेको ? मर्न मन छ कि क्या हो? अनि के हामि सबैलाई मार्ने विचार छ” भनेर भने कराउदछन् l नाउ दुलो पार्दै गरेको व्यक्तिले भन्छ “तिमीहरु चुप लागेर बस ! म आफ्नो ठाउमा जेसुकै गरौ, तिमिहरुलाई के मतलब ?
https://www.facebook.com/BikalpaKhabar/videos/1577282165814497
कुरा उसको ठिकै सुनिन्छ, तर एकजना मानिसले नाउमा दुलो पार्दा नाउका सबै मानिस डुब्न पुग्दछन् भने एक जना मानिसले दुलो टाल्दा अरु मानिस जोगिन पुग्छन् l समाजमा एक जना मानिसले गरेको राम्रो वा नराम्रो कामको नतिजा र प्रतिफलले अरुलाइ पनि असर गर्दछ l
भनिन्छ, दुईचार जना खराब व्यक्तिहरूले नराम्रो काम गरेर समाज बिग्रँदैन, समाज त्यति बेला बिग्रन्छ, जति बेला राम्रो व्यक्तिहरुले खराब मानिसहरुले गरेको गलत क्रियाकलाप बिरुद्द बोल्दैनन, वा हेरेर र सहेर बसिदिन्छन् ।
देश एउटा भरिएको चामलको बोरा जस्तै हो, बोरा भित्रको चामल जनता जस्तै हुन, चामल खरिद गर्दा हेर्न निकालिएको स्याम्पल नेता जस्तै हुन् l यदि स्याम्पल खराब निस्किदैछ भने बोरा भित्रको चामलमा नै खराबी हुन सक्छ l
आज हामि दोष नेता, कार्यकर्तालाइ दिन्छौ, अवस्य पनि केहि मानिसहरुले गलत गरेका होलान् तर हामी राम्रा भनाउदाहरु चाहि के हेरेर बसीरहेका छौ ?
एउटा भनाइ छ, समाजमा दुई किसिमका अपराधीहरू हुन्छन्, एउटा सक्रिय अपराधी र अर्को निष्क्रिय अपराधी । सक्रिय अपराधीहरू देखादेखी अपराध गर्दछन् भने निष्क्रिय अपराधीहरू हेरेर वा सहेर बसिदिन्छन् । सक्रिय अपराधी भन्दा निष्क्रिय अपराधीहरू समाजको लागि घातक हुन्छन्, किनकि उनीहरू निष्क्रिय हुनुको साथसाथै काँतर पनि हुन्छन् ।
कुनै पनि समाजमा गलत काम गर्नेहरूको संख्या थोरै हुन्छ l ठुलो जमात त्यो गलत कामलाइ सहेर बस्ने र तमासा हेर्नेहरूको हुन्छ । जबसम्म समाजमा दोस्रो किसिमका मानिसहरूको भिड ठुलो हुन्छ, तबसम्म गलत कुराले स्थान पाइरहन्छ।
जब गलत मनसाय भएका सीमित स्वार्थ समूहहरू एकजुट हुन्छन्, अनि राम्रा व्यक्तिहरू विभाजित भइरहन्छन्, तबसम्म सीमित स्वार्थ समूहहरूको समाजमा जित भई नै रहन्छ । आज हाम्रो समाजमा सिमित गलत काम गर्ने व्यक्तिहरू एकजुट भएका छन् भने असल भनाउँदा मानिसहरू विभाजित रहेको अवस्था छ l
हामी के कुरा बोल्छौ, त्यसको लागि मात्र जिम्मेवार हुँदैनौ, हामी के कुराको लागि बोल्दैनौ त्यसको लागि पनि त्यति नै जिम्मेवार हुन्छौ। एउटा जिम्मेवार र सचेत नागरिक आफ्नो कर्तव्यको बारेमा मात्र सचेत भएर पुग्दैन, उसले अरूको गैर जिम्मेवारीपूर्ण क्रियाकलापको पनि त्यति नै खुलेर विरोध गर्न सक्नु पर्दछ ।
यदि कसैले मेरो छिमेकीलाई अकारण कुटी रहेको छ र म हेरेर बस्छु भने अब कुटाइ खाने पालो मेरो हुनसक्छ । छिमेकीको घरमा लागेको आगो ननिभाउँदा त्यसले मेरो घर पनि जल्न सक्छ भन्ने कुरा बिर्सनुहुँदैन ।
यदि हामी गलत कुराको विरुद्ध आवाज उठाउँदैनौ भने त्यस कुरामा हाम्रो मौन समर्थन छ भन्ने दर्शाउद्छ । गलत कुरा भनेको काँडाको बिरुवा रोपे जस्तै हो, जति हुर्कँदै जान्छ, त्यसले धेरैलाई पिरोल्छ र एक दिन यस्तो अवस्था आउँछ जसलाई उखेलेर फ्याँक्ने सामर्थ्य हामीसँग हुँदैन।
एउटा भनाइ छ, कुनै पनि देश नारा, भाषण र जुलुसले महान् हुँदैन, देश त्यति बेला महान् हुन्छ जति बेला त्यो देशका नागरिकले राम्रो काम गर्ने जिम्मेवारी र हिम्मत राख्दछन् l
समाजलाई सही दिशानिर्देश गर्नु छ भने हामी नागरिक जिम्मेवारी बहन गर्नबाट पन्छिनु हुँदैन l तपाईँ हामी आफै नेतृत्व लिन सक्छौ l तर दुक्खको कुरा हामी अरूको आस गरेर बसेका छौ, जबकी अरुपनि हाम्रै मुख ताकेर बसेका छन् l
विन्स्टन चर्चिल भन्छन्, महानताको किमत जिम्मेवारी हो l जिम्मेवारीलाई अङ्ग्रेजीमा Responsibility भनिन्छ, जुन Response र Ability भन्ने दुइटा शब्दबाट बनेको हुन्छ l Response को अर्थ उत्तर वा प्रतिक्रिया, र Ability को अर्थ क्षमता हुन आउछ l अर्थात् जो व्यक्तिमा आफू उत्तरदायी भई वा अरूलाई उत्तरदायी बनाउने क्षमता राख्दछ, त्यो व्यक्तिले समाजमा जिम्मेवारी उठाउन तत्परता देखाउनु पर्दछ l
हरेक कुराले नतिजा ल्याउँछ, राम्रो कुराले राम्रो नै नतिजा ल्याउँछ भने गलत कुराले गलत नै । यदि गलत कुरालाई समयमा रोक्न सकिएन भने यसले अब आउने पुस्तालाई समेत नराम्रो सँग सताउनेछ, जनकुराको लागि धेरै हदसम्म दोषी हामी पनि हुने छौ ।
निसन्देह, समाजमा घट्ने सबै गलत क्रियाकलाप बारेमा लेख्न, बोल्न वा बिरोध गर्न सम्भब हुदैन l आफ्नो क्षेत्रमा वा आफ्नो ठाउमा भएको बेथितिलाइ सुधार गर्नको निम्ति मात्र पनि पहल गर्ने हो भने समाजमा व्याप्त धेरै समस्याहरुलाई निराकरण गर्न सकिन्छ l
यो समाज हाम्रो हो र हामीले यो समाजबाट धेरै कुरा पाएका छौ l हामीमा लिने मात्र हाम्रो सोच हुनुहुदैन, समाजलाई राम्रो बनाउन पहल गर्ने जिम्मेवारी पनि हामि नागरिकहरुकै हो l
कुनैपनि समाजमा यदि गलत कुराले प्रशय पाइरहेको छ भने त्यस कुरालाईलाई निरुत्साहित गर्ने प्रमुख दायित्व राज्यको कानुनको हो l तर यदि राज्यको कानुन तथा संरचना नै भ्रस्ट छन् र खराब प्रवृत्तिलाई नै प्रोत्साहन गर्दछन् भने, त्यसकुरा विरुद्ध आवाज उठाइ सम्बन्धित निकायलाइ जबाफदेही बनाउने कर्तब्य हामि नागरिकहरुको हो l


