विराटनगर। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले असार ७ गते बुधबारको दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आफ्नै पाराको बेचलती भाकामा पत्र पठाउनु भएको छ। बुधबार केन्द्रको स्वास्थ्य मन्त्रालयलाई सम्बोधन गर्दै साम्पाङले उपमहानगरले नगर अस्पताल बनाउने भनिएको जग्गा कुनै ‘कुलङ्घारले दलाली गरेको’ भन्दै औपचारिक पत्रमा प्रयोग नहुने बेचलतीको भाकामा पत्र पठाउनु भएको हो।
प्रमुख साम्पाङले मन्त्रालयलाई प्रेषित पत्रमा, ‘‘धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनै कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाइएछ,’ पत्रमा भनिएको छ, ‘यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। पिलिज फिर्ता गरिदिनु होला।’ भनेर लेख्नु भएको छ।
उक्त पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बोधार्थ दिइएको छ।
मेयर साम्पाङले यस अघि समेत उपमहानगरपालिकाको औपचारिक लेटरप्याडमा आफ्नै अनौपचारिक ढंगले पत्रहरू लेख्दै आउनु भएको छ।
सामाजिक संजालमा सक्रिय प्रमुख साम्पाङको उक्त पत्र सार्वजनिक भएपछि पत्रको पक्ष र विपक्षमा तर्क-वितर्क सुरु भएको छ। साम्पाङका समर्थकहरूले पत्र ‘टु दि पोइन्ट’ र कडा भएको भन्दै बचाउ गरेका छन् भने पत्रका विपक्षमा रहेकाहरूले पत्रको भाषा अमर्यादित र पदको गरिमायुक्त नभएको तर्क गरेका छन्।


