विराटनगर। कोशी प्रदेश स्वास्थ्य मन्त्रालयलले प्रदेश स्वास्थ्य नीति- २०८२ सार्वजनिक गरेको छ। गत साउन १६ गते कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको स्वास्थ्य नीति मन्त्रालयले सार्वजनिक गरेको हो।
मन्त्रालयले नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार, सङ्घीय नीति तथा कार्यक्रम, दिगो विकास लक्ष्य, नेपालले गरेको अन्तर्राष्ट्रिय प्रतिवद्धता र विद्यमान स्वास्थ्य क्षेत्रको समस्या र चुनौतीको विश्लेषणको आधारमा प्राथिमिकता तय गर्दै प्रादेशिक नीति तजुर्मा गरेको गरेको उल्लेख गरेको छ।
७ वटा निर्देशक सिद्धान्तको आधारमा ६ वटा उद्देश्य र २६ वटा नीति तथा रणनीति तय गरेको स्वास्थ्य नीतिले ‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ लाई मूल लक्ष्य निर्धारण गरेको छ।
नीतिले मानव स्वास्थ्यमा पर्याप्त लगानी गरी उत्पादनशील, न्यायसम्मत र जबाफदेही स्वास्थ्य प्रणाली मार्फत स्वस्थ मानव पुँजी निर्माण गर्ने लक्ष्य तय गरेको छ।
स्वास्थ्य नीतिले जनमुखी एवम् गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पुर्याउन संरचनात्मक विकास तथा सुधार गर्ने, आयुर्वेद तथा अन्य वैकल्पिक चिकित्सा प्रणालीलाई संरक्षण, प्रवर्द्धन तथा मूलप्रवाहीकरण गरी विस्तार गर्ने, प्रदेश स्वास्थ्य पर्यटनको विकास गर्न लगानी, समन्वय र सहकार्य गर्ने लगायतका नीतिहरू तय गरेको छ।


