म सन् २०२२ को मे र २०२३ को अक्टोबरमा अल्बानियाको राजधानी टिराना पुगेको थिएँ। अहिलेको समयमा अल्बानिया लोकप्रिय पर्यटकीय गन्तव्य बन्दै गएको छ। करिब २८ लाख जनसंख्या भएको अल्बानियामा सन् २०२२ मा मात्रै झन्डै ७५ लाख पर्यटकले भ्रमण गरेका थिए। पर्यटकको संख्या सन् २०२३ मा झन्डै १ करोड र सन् २०२४ मा १ करोड ४० लाख पुगेको अनुमान गरिएको छ। भूमध्यसागरीय हावापानी र सस्तो पर्यटकीय गन्तव्य भएकोले दक्षिणी युरोपको यो तटीय राष्ट्रले धेरै पर्यटक आकर्षित गर्ने गरेको छ ।
अल्बानियाको जहाज चढ्न एयरपोर्ट जानुअघि एक साथीले व्हाट्सएपमा “अपराधको राज्य अल्बानियामा नलुटिनु है” भन्दै म्यासेज गरेका थिए। मेरो टिरानामा लण्डनमा अध्ययन गरेका अल्बानियाको लिबर्टेरियन आन्दोलनका अगुवा अद्री नुरेल्लारीसँग भेट भयो । अद्री कुनै समय अल्बानियाको डेमोक्रेटिक पार्टीका सल्लाहकार थिए भने हाल कोसोभोको डेमोक्रेटिक पार्टीलाई समेत सल्लाह-सुझाव दिइरहेका छन्। उनीसँग अल्बानियाको सुरक्षा र अपराधको कुरा गर्दा उनले लागुपदार्थको क्षेत्रमा अत्यधिक अपराध हुने जानकारी दिए । साथै, उनले लागुपदार्थको क्षेत्रबाट ठूलो र राम्रो कमाई हुने भएकोले सानोतिनो चोरी र लुटपाट भने त्यस्तो नहुने बताए। अद्रीले भने “यहाँ पर्यटकबाट सय दुई सय युरो चोर्नुभन्दा लागुऔषध बेचेर लाखौं कमाउनु सजिलो हुन्छ।”
मैले राति खाना खाँदा “स्टुडेन्टस् फर लिबर्टी” समूहकी ब्योर्नालाई अल्बानियाका जनताको जीविकोपार्जनको स्रोत के हो? भनेर प्रश्न गरेको थिएँ। उनले हाँस्दै, “तपाईंलाई साँच्चै थाहा छैन र? जीविकोपार्जनको मुख्य स्रोत गाँजाखेती र व्यापार” हो भनेर उत्तर दिइन। ब्योर्नाले राष्ट्रपतिले अल्बानियालाई ‘नार्को-स्टेट’मा परिणत गरेको भन्दै आलोचना समेत गरिन्। औपचारिक तथ्यांक नभए पनि आज अल्बानियालाई “युरोपको कोलम्बिया” भनेर चिनिन थालिएको छ। आज अल्बानियाको कुल राष्ट्रिय उत्पादनको एक तिहाइदेखि आधा भागसम्म लागुपदार्थको व्यापारबाट आउँछ भन्ने अनुमान गरिन्छ। प्रत्येक वर्ष अर्बौं युरो लागुपदार्थको क्षेत्रबाट आउँछ।
समाजवादी शासनकालको तुलनामा जीवनशैलीमा उल्लेखनीय सुधार आएता पनि यद्यपि देशमा अझै गरिबी छ । ब्योर्नाले उनका हजुरबुबा-हजुरआमा कुनैसमयमा ८० वर्गमिटरको अपार्टमेन्टमा २० जना परिवारका सदस्यसँग बस्नुपरेको सुनाइन्। त्यति सानो ठाउँमा धेरैजना बस्नु सामान्य कुरा थियो। मैले कतै यहाँ ५० वर्गमिटरको अपार्टमेन्टमा ४ देखि १० जनासम्म बस्ने चलन थियो भन्ने पढेको थिएँ।
त्यो समयमा अल्बानिया युरोपकै सबैभन्दा गरिब देश थियो। देशभर जम्मा १२६५ वटा गाडी थिए तर कुनैपनि निजी स्वामित्वका थिएनन्। सन् १९९० को सुरुवातसम्म देशभर कतै ट्राफिक लाइट थिएन। तर, आज टिराना सवारीसाधनले भरिएको छ जुन शहर कारको लागि बनेकै होइन। यहाँका चालकहरु म्यानह्याटन जस्तै सधैँ ट्राफिक जाम फसेका हुन्छन्। टिरानामा बेला-बेला फरारी जस्ता महँगो गाडीहरू देखिन्थे। ब्योर्नाका अनुसार त्यस्ता कारहरु लागुऔषध कारोबारीहरु चढ्ने गर्छन्।
टिराना भ्रमणको क्रममा सडकमा हिँड्दै गर्दा थुप्रै बंकरहरू देखें। यहाँका पूर्व तानाशाह अनवर होक्सा पुँजीवादी देशहरूले आक्रमण गर्न सक्छन् भनेर निकै डराउँथे। त्यसैले उनले देशभर २ लाख बंकर बनाउन आदेश दिएका थिए। त्यसमध्येका धेरै बंकरहरु अहिले पनि देख्न सकिन्छ। ब्योर्नाले उनका केही साथीहरूले रेस्टुरेन्टमै बंकरलाई सजाएर प्रयोग गरेको कुरा बताइन् । मैले विमानस्थलमा कानुन पढ्दै गरेका एक युवकलाई भेटेको थिए जो घरजग्गाको कारोबारमा लगानी गरिरहेका थिए। युवकले मलाई पुरानो बंकरको भित्री सजावट परिवर्तन गरि बनाइएको फोटो देखाउँदै आफूले यस्तै बंकरलाई रिसोर्ट बनाएर भाडामा दिने सपना देखिरहेको बताए।
टिरानामा अलि ठूलो आकारको बंकरलाई ‘बंकर संग्रहालय’ बनाएर राखिएको छ। त्यो संग्रहालय निकै राम्रो छ। संग्रहालयले होक्साको शासनकालको कम्युनिस्ट आतंकको यथार्थ उजागर गर्छ।
संग्रहालयले मैले बाल्यकालमा अल्बानियालाई जुन रूपमा कल्पना गरेको थिएँ , त्योभन्दा एकदमै फरक यथार्थ प्रस्तुत थियो। किशोरावस्थामा म माओवादी थिएँ। १३ वर्षको उमेरमा मैले विद्यालयमा ‘रेड सेल’ स्थापना र “रेड ब्यानर” नामक पत्रिका निकालेको थिएँ। अहिले पनि सम्झिन्छु , म रातको ११ बजे सम्म ओछ्यानमा रेडियो टिराना सुन्थें।
तर, सत्य के हो भने हामीलाई अल्बानियाको बारेमा केही थाहा थिएन। हामीले होक्साले सन् १९४६ देखि १९८५ सम्म शासन गरेको देशमा हाम्रो समाजवादी कल्पना मात्र थोपरेका थियौं। यथार्थमा भने अल्बानियालीहरू एउटा देशकै आकारको जेलमा बसिरहेका थिए। देश छाड्ने प्रयास गर्नेहरूलाई जेल, श्रम शिविरमा पठाइने गरिन्थ्यो वा गोली हानेर मारिन्थ्यो । झन्डै १००० जनाले देश छोड्ने प्रयासमा ज्यान गुमाएका थिए।
अल्बानिया पूर्ण रूपमा बाह्य विश्वबाट टाढा थियो। कति सम्म टाढा थियो भने संसारभर गरीब, रोगी र बेसहारा मानिसका लागि सेवा गर्ने मदर टेरेसाले अल्बानियामा मरनासन्न अवस्थामा रहेकी आफ्नी आमासँग भेट्न चाहन्थिन् तर सकिनन्। संसारभरका राष्ट्र प्रमुखहरुले उनलाई सहयोग गर्न कूटनीतिक प्रयास गरे तर असफल भए। सन् १९८१ मा उनकी आमाको अल्बानियामा देहान्त भयो । होक्साको मृत्यु भएको ५ वर्ष पछि मात्रै सन् १९९० मा टेरेसा आफ्नी आमाको समाधिमा पुग्न सफल भएकी थिइन्।
अल्बानियालीहरूलाई र बाँकी विश्वलाई पनि होक्साको शासनकालमा होक्सा र उनका कम्युनिस्ट साथीहरु देशको जनताबाट अलग बिलासी जीवन बाँचिरहेका थिए भन्ने थाहा थिएन। सन् १९६० को अन्त्यदेखि १९८५ को अप्रिलमा मृत्यु नहुञ्जेल होक्सा देशबाहिर जाँदैनथे र देशभित्र पनि टिरानाको एक सानो क्षेत्र ‘ब्लक’ बाहिर पनि यदाकदा बाहेक निस्केनन्। यो क्षेत्र २१ फुटबल मैदानको क्षेत्रफल जति ठूलो थियो। होक्सा सन् १९४४ देखि मृत्यु नहुन्जेल सम्म यस क्षेत्रमा कम्युनिस्ट पार्टीका नेता र तिनका परिवारहरुसहित बस्ने गर्थे।
त्यहाँ बसेर होक्सा दिनभर घोस्टराइटरहरूको सहयोगमा समाजवादको गुणगान गाउने किताब लेखेर बस्दथे। युरोपको सबैभन्दा गरिब देशमा बसेर समाजवादको गुणगान !
जब मैले अद्रीसँग, “समाजवादबाट प्रजातन्त्र र बजार अर्थतन्त्रमा रूपान्तरणको प्रक्रियामा के गल्ती भयो?” सोधेँ , उनको जवाफ थियो, ‘शासन गर्नेहरूमा परिवर्तन नै भएको छैन, त्यही पुरानै दर्जनजति परिवार अझै सत्तामा छन्’ भन्ने थियो। पुरानै शासनकालमा रजाईं गर्ने परिवारहरुलेनै पुन: शासनसत्ता पाएपछि होक्साको तानाशाही र त्यसका अपराधबारे कुनै गम्भीर बहस वा न्यायिक प्रक्रिया सुरु हुने छाँट देखिँदैन। पुरानै व्यक्तिहरुको नयाँ व्यवस्थामा हालीमुहाली हुँदा कम्युनिस्टहरुले जति जमिन्दारको जमिन र व्यवसायीको सम्पत्ति खोसे त्यसमध्ये २० प्रतिशतजतिको मात्रै जमिन, सम्पत्ति फिर्ता र १ करोड डलरजति मात्रै क्षतिपूर्ति प्रदान गरिएको छ।
समाजवाद अन्त्य भएपछिको दशकमा धेरै अल्बानियाली देश छोडेर गएका छन्। जनसंख्याको अनुपातमा हेर्दा, समाजवादको अन्त्यपछि यति धेरै मानिस बाहिरिने युरोपको अर्को कुनै देश छैन्। पछिल्लो ३० वर्षमा देशको जनसंख्याको ३० प्रतिशत जति घटिसकेको छ। आज देशमा जम्मा २८ लाख जति मानिस बस्छन्। बाहिर गएका मध्ये धेरै प्रतिभाशाली युवा हुन्। पलायन भएर गएका धेरै ग्रीस र इटलीमा बसोबास गर्छन्। अद्रीले ‘इटलीमा अहिले ४०००० व्यवसाय चलाइरहेका ३.५ लाख अल्बानियाली छन्, जसले इटलीको कुल गार्हस्थ उत्पादनको ७ प्रतिशत योगदान दिइरहेका छन्’ भनेर सुनाए। आज धेरै अल्बानियालीहरू देशमा भन्दा देश बाहिर छन्।

अनुवाद
निशान्त ढुङ्गाना
( साभार : राइनर जिटलम्यानको ‘ The Origins of Poverty and Wealth: My World Tour and Insights from Global Libertarian Movement ‘ पुस्तकबाट )

