विराटनगर। नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश समितिको आयोजनामा ऊर्जा दक्षता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आज विराटनगरस्थित सीएनआई कोशीको सचिवालयमा जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (जीआइजेड नेपाल) र नेपाल बैंकर्स संघका प्रतिनिधिको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
अन्तरक्रियामा बोल्दै सीएनआई कोशीका अध्यक्ष पवनकुमार शारडाले कोशी प्रदेशका उद्योगहरूको ऊर्जा अडिटको लागि सीएनआई कोशीले जीआइजेड नेपाललगायतको संस्थासँग सहकार्य गर्दै आएको र उक्त अडिटको परिणामले ऊर्जा दक्षताको क्षेत्रमा सकारात्मक नतिजा हासिल भइरहेको जानकारी दिनु भएको थियो।
त्यस्तै, अध्यक्ष शारडाले पछिल्लो समय सरकार र सरकार मातहतको निकायको हैकमवादी चरित्रले उद्योग क्षेत्रलाई ध्वस्त पार्ने खतरा देखिएको बताउनु भयो। उहाँले सरकारले औद्योगिक क्षेत्रलाई गम्भीरता साथ स्थिर नीतिले सम्बोधन गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो।
जीआइजेड नेपालका ऊर्जा दक्षता परियोजनाका प्रमुख डा सञ्जय गोर्खालीले ऊर्जा दक्षताले उद्योगको क्षमता र उत्पादनमा उल्लेख्य वृद्धि गरेको बताउनु भयो। गोर्खालीले ऊर्जा दक्षता कार्यक्रमका लागि आवश्यक आर्थिक सहयोग र सहायताका लागि नेपाली वाणिज्य बैंकहरूले समेत उत्साह देखाइरहेको हुँदा ऊर्जा अडिटलाई प्राथमिकतामा राख्न उद्योगीहरूलाई अनुरोध गर्नु भएको थियो।
उहाँले जीआइजेड नेपालले ऊर्जा अडिट भएर र ऊर्जा दक्षताका लागि कार्य गरिरहेका नेपालका ९० वटा उद्योगहरूको अध्ययन गर्दा उक्त उद्योगहरूले औसतमा १३ देखि १४ प्रतिशत सम्म ऊर्जा बचत गर्न सफल भएको पत्ता लागेको सुनाउनु भएको थियो।
अन्तरक्रिया कार्यक्रममा आर्थिक मामिलाका विज्ञ अनल राज भट्टराईले नेपालका उद्योगहरूको ठूलो रकम ऊर्जाको क्षेत्रमा खर्च भइरहेकोले उक्त खर्च न्यूनीकरण र उद्योगको उत्पादन वृद्धिका लागि समेत ऊर्जा दक्षतामा लगानी महत्वपूर्ण हुने बताउनु भएको थियो। उहाँले ऊर्जा दक्षताले प्रतिस्पर्धात्मक बजारमा उद्योगीहरूलाई ठूलो आर्थिक भारबाट जोगाउने हुँदा उक्त असरले उत्पादनको मूल्य घटाउन समेत भूमिका खेल्ने धारणा व्यक्त गर्नु भएको थियो।
नेपाल बैंकर्स संघका कपिल गौतमले वाणिज्य बैंकहरूले हरित तथा दिगो विकासका परियोजनामा लगानी गरिरहेकोले वातावरण जोगाउन समेत भूमिका खेल्ने ऊर्जा दक्षता कार्यक्रममा समेत लगानी गर्न पछि नपर्ने बताउनु भएको थियो।
अन्तरक्रिया कार्यक्रममा बोल्दै सीएनआई कोशी महानिर्देशक विजयहरि शर्माले सीएनआई कोशीको समन्वय र जीआइजेड नेपालसँगको सहकार्यमा सुनसरी-मोरङ कोरिडोरका केही उद्योगहरूको ऊर्जा अडिट गरिसकेको र उक्त अडिट पछि उद्योगहरूले ऊर्जा दक्षताका लागि कार्य गरिरहेको बताउनु भएको थियो।
अन्तरक्रिया कार्यक्रममा सीएनआई कोशीका पदाधिकारी, सदस्यलगायत मोरङ-सुनसरी कोरिडोरका उद्योगीहरूको उपस्थिति रहेको थियो।


