विराटनगर। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेश समितिले नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष एवम् चौधरी ग्रुपका उपाध्यक्ष निर्वाण चौधरीसँग अन्तरक्रिया गरेको छ। आज विराटनगरमा मञ्चले मासिक सञ्चालन गर्ने ‘लर्निङ्ग सेसन’ अन्तर्गत चौधरीसँग अन्तरक्रिया गरेको हो।
अन्तरक्रियामा बोल्दै चौधरीले कोशी प्रदेशमा अन्य प्रदेशको तुलनामा कृषि लगायतको क्षेत्रमा अत्यधिक सम्भावना रहेको भन्दै युवा उद्यमीहरूले आगामी दिनमा उक्त क्षेत्र तर्फ ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो। उहाँले नेपालमा उद्यमीहरूले व्यवसायमा नवीन योजना ल्याएर समुदायलाई जोडेर अघि बढ्न सके समाजको चौतर्फी हित हुने बताउनु भएको थियो।
चौधरीले देशमा हाल राजनीतिक अस्थिरता जस्तो अवस्था देखिए पनि निकट भविष्यमै राजनीतिक र व्यावसायिक अवस्था सुधार हुनेमा आफू आशावादी रहेको बताउनु भएको थियो।
‘जेनजी आन्दोलनमा हाम्रो घर, उद्योग र सो-रुमहरूमा तोडफोड भयो, आगजनी भयो, ‘ चौधरीले भन्नु भयो ‘ आन्दोलनको बेला भएको क्षतिप्रति दुखी छौँ तर हामी निरुत्साहित भएका छैनौँ पुन: बलियो भएर आउनेमा विश्वस्त छौँ ‘।
त्यस्तै, कार्यक्रममा नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले व्यवसाय क्षेत्रमा प्रतिफल प्राप्त गर्न लामो समय लाग्ने भएकोले युवाहरूले धैर्यतासाथ सक्रिय रहनु पर्ने बताउनु भएको थियो।
मञ्चका अध्यक्ष सुशन प्रधानले मञ्चले मासिक ‘लर्निङ्ग सेसन’ कार्यक्रम अन्तर्गत व्यवसाय, अर्थतन्त्र क्षेत्रका विज्ञहरूसँग नियमित संवाद गरिरहेको जानकारी दिनु भयो।


